टीम हर्टन्सको कफि
देवेन्द्रप्रताप शाह
मध्ये सेप्टेम्वर महिनाको मध्ये दिन र क्यानडाको
राजधानी अटवाको बैंक स्ट्रिट ( अटवा शहरको एक सडकको नाम) । आफ्नो
प्यास मेटाउन टीम हर्टन्स खोज्दै लुइँलुइँ सडकको पेटिमा हिडिरहेका हामी – म,
फेवा, र हाम्रै उमेरको एक गोरे । मान्छेहरु भन्छन, उत्तर अमेरिकाकै सबैभन्दा लामो
स्ट्रिट हो यो । अन्य कोहीको विचारमा क्यानडाको मात्र लामो हो । अत: अटवाको
सबैभन्दा लामो स्ट्रिट भएकोमा त शंका गर्न परेन । मुख्यत: सार्वजनिक पुस्तकालय पस्ने
र टिडि क्यानडा ट्रष्ट बैंक (क्यानडाको एक प्रमूख बैंक) जाने दुई
काम लिएर फेवा र म निवासबाट निस्केका थियौँ आज । यो गोरे चाहिँ एक छिन अघिसम्म
अपरिचित थियो, अहिले परम मित्र झै एकै उद्देष्य लिएर हामीसँगै हिडिरहेको छ ।
क्यानडामा सबै बेफूर्सत देखिन्छन्, नेपालमा
जस्तो फाल्तु गफमा अल्मलिएर कोही बसेको हुँदैन यहाँ । कमाइ-धन्दा र घर धन्दामा
दौडादौडि छ सबैको, यहाँका नेपालीको हालत पनि यही हो । सोसलाइज गर्ने उत्कट रहर
हुँदाहुँदै पनि एक रुटिन जीवन विताउने वाध्यतामा हुन्छन् उनीहरु । त्यसैले मैले न उनीहरुलाई
विथोल्न हुन्छ, न उनीहरु आफै विथोलिन चाहन्छन् । काम नभएका म जस्तालाई यहाँको
व्यवस्थित पुस्तकालयले शरण र स्नेह दुवै दिन्छ । शहरका ठाउँ-ठाउँमा खोलिएका यी
पुस्तकालयमा किताब, अखबार, पत्रिका, कम्प्युटर, सिनेमा सबै उपलब्ध हुन्छ, थकाइ लाग्दा
नघुरीकन सोफामा आरामसँग निदाउन पनि पाइन्छ ।
पुस्तकालयको कुरा नगरे निवासबाट बाहिर निस्कने
प्रस्ताव मैले इन्कार गर्ने डर थियो फेवालाई । त्यसैले निस्कनुअघि ढाडस दिदै उनले
भनेकी थिइन्, 'नजिकैको पुस्तकालयमा तिमी पढेर बस्नु, म बैंकको काम सक्छु, केही खाने
सामानहरु किन्छु र त्यहीँ आउँछु, अनि सँगै फर्कौँला ।' मेरो पुस्तकालय प्रेम उनलाई
अवगत नहुने कुरै थिएन । निवास नजिकै पुस्तकालय कहाँनिर छ र खोजेकी बैंकको
शाखा कता पर्छ उनलाई पनि थाहा रहेनछ, यता कतै नजिकै भएको मात्र सुनेकी रहिछिन् । पहिले
तीन महिना जति बसे पनि म यसपालि त भर्खरै आएको हुँ । फेवा म भन्दा डेढ वर्षअघिदेखि
यस शहरमा छिन्, उनलाई पनि यो ज्ञान रहेनछ । यसको कारण त छ, आमा-छोरा भर्खरै
अहिलेको ठाउँतिर सरेका रहेछन् । यहाँ भाडा सस्तो छ, तर यसअघिको घर र पुस्तकालय
आमने-सामने थिए, जुन ठूलै आकर्षण थियो मेरो लागि । पहिलेको पटक दिन-दिनभर त्यहाँ
बस्थेँ म । यहाँबाट चाहिँ बैंक र पुस्तकालय दुवै टाढै रहेछन् ।
इन्टरनेटमा अभ्यस्त नभई यहाँको मान्छेको दैनिकि
चल्न मुस्किल छ । कहीँ जाँनु पर्दा बसको समय, स्टेसनको दूरि, जाने ठाउँको म्याप,
स्ट्रिट, घर नम्वर आदि पहिले इन्टरनेटबाटै पत्ता लगाइन्छ, अनि मात्र
मान्छेहरु बाहिर निस्किन्छन् । तर हाम्रो भने इन्टरनेट हेरेर बाहिर निस्कने बानी
छैन, यसैले पुग्न पर्ने ठाउँ पत्ता नलागेर आज हामी धोका खाइरहेका छौँ । इन्टरनेट
हेर्ने वानी मात्र नभएको हैन हामीसँग आफ्नो कार पनि छैन, तर यहाँका धेरैजसो
नेपालीसँग छ । त्यसैले आज बस चढेर नजिकैको बैंक र पुस्तकालय खोज्दै यहाँ आइपुग्यौँ
। बसबाट ओर्लिएपछि बाटोमा हिडिरहेका सहज लाग्ने जति वटुवासँग सोध्न थाल्यौँ । त्यही
सोध्ने क्रममा यो गोरे भेट भएको थियो । आफ्नो गाडी पार्किङमा राखेर बजार क्षेत्रको
यताउता गरिरहेको थियो यो गोरे । अहिले चाहिँ हामी बैंक र पुस्तकालय हैन, टीम
हर्टन्स खोज्ने यात्रामा छौँ । टीम हर्टन्स क्यानडाभरि नै सस्तो र मीठो कफि
बेच्नेको दुकानको रुपमा चर्चित छ, धेरै नेपालीले यहाँ काम पनि पाएका छन् । यसको
कफिको वास्तविक फ्यान हुँ म, क्यानडामा बस्दा दिनको एक कप म सधैजसो लिन्छु,
कहिलेकाहीँ दुई कप । लिन नपाएको दिन बेचैन हुन्छु ।
सार्वजनिक यातायातको अद्वितिय व्यवस्था छ
अटवामा, मेरो लागि टिम हर्टन्स जस्तै यो यहाँको प्रिय वस्तुमध्येको हो, र नेपालमा
पनि बसको यस्तै सुविधा भएको कल्पना गर्छु । तर थाहा छ, यो मेरो कल्पना बाहेक केही
हुनै सक्दैन । अटवाको प्राय: कुनै पनि कुनामा पुग्न बसको सुबिधा उपलब्ध छ । बस
आरामदायि मात्र हैन, फ्रिक्वेन्सि पनि राम्रो छ, आइरहन्छ, धेरै वेर कुर्नै
पर्दैन । पास व टिकट वा नगद तिरेर बसको सुबिधा उपयोग गर्न पाइन्छ, सित्तिमा चाहिँ
पाइदैन । यात्रुहरु एक-अर्कालाई सम्मान गर्छन्, अपाङ्गता व्यहोर्न पर्नेहरुको लागि
बस चढ्ने छुट्टै व्यवस्था छ । खालि-खालि पनि दौडिन्छन् बस, तर निर्धारित स्टेसनमा प्रदर्शित
समयमा पुग्न चुक्दैनन् । बस आएको समय हेरेर घडि मिलाउँदा हुन्छ, विकसित मुलुक जो
हो ।
एकछिन अघिको कुरा हो, बजार क्षेत्र नजिकै
पुगेपछि एकैचोटि फेवा र मैले देखेका थियौँ, ठूला-ठूला दुकानहरु मेट्रो-स्टोर,
वेस्ट-वाई, फार्म-व्वाइ, फ्युचर सप, वालमार्ट आदि र यो गोरे पनि । यहाँ
मान्छेहरु खाने सामानदेखि इलेक्ट्रोनिक्ससम्म किन्न पाउँछन्, निर्धारित स्थल बाहेक अन्त पसल खोल्न वर्जित छ क्यानडामा, यसले
शहरको सौन्दर्यलाई खलल गर्दैन । हामीसँग हिडिरहेको यो गोरे गोरेहरुकै तुलनामा अलि
वेग्लै लाग्यो हामीलाई, बोलिचालि, उचाइ, पहिरन र मुखाकृतिका दृष्टीले । बोली
आकर्षक र नम्र छ । फलाटिनको वाक्लो सर्ट र जिनको पाइन्टमा छ, सर्टभित्र सेतो
टि-सर्ट पनि देखिन्छ, अनुहारमा मसिना र पातला दाह्रि छन् । मैले चाहिँ छोराको
ज्याकेट भिरेको छु, फेवाले काठमाडौमा जस्तो सारी र चोलो हैन, पाइन्ट र टिसर्ट
लगाएकी छिन्, र थपमा एउटा पातलो ओड्ने छ । अटवामा जाडो शुरु भइसकेको छैन, यति लुगा
काफि छ । सेप्टेम्वर महिनाको मजा यही हो यहाँ । त्यसमाथि पनि सडकभरि रमाइलो घाम छ
आज । मेरो विचारमा यहाँ जाडो र रमाइलोको भेट हुँदैन । यो महिनाबाट यहाँ 'फल'
सिजन शुरु भएको छ । मेदेखि अगष्ट महिनासम्मको समर सिजनमा छुट्टिमा रहने विद्यार्थीहरु
'फल'बाट क्लासतिर लाग्छन्, मेपल-ट्रिका पातहरु रातो र पहेलो
भएर भुइँमा झर्न थाल्छन् । मेपलको पातको विशेष अर्थ छ यहाँ, यो नै
क्यानडाको राष्ट्रिय झण्डा हो, नेपालको चन्द्र-सूर्य जस्तै ।
अस्ति फेवा भन्दै थिइन्, 'रुखका पातहरु झर्न
थाल्ने भएकोले यो सिजनलाई फल भनिएको हो ।' म केही बोलिन किनकि मलाई यो थाहा
छैन । थाहा के छ भने नोभेम्वरबाट जाडोले
आफ्नो दाँत देखाउन थाल्छ यहाँ, अनि केही महिनालाई रमाइलोले यहाँबाट प्रश्थान गर्छ ।
जनवरी-फेव्ररीताक काठमाडौमा जाडो सकिन लाग्दा यहाँ उँचाइमा पुग्छ । वलियो स्याँठ
चल्छ, हिउँ पर्छ । डिसेम्वरदेखि बाटो, घरका छाना, आँखाले देख्ने जति सबै
सेताम्मे हुन थाल्छन् । बाटोबाट हिउँ उठाउन सरकारले लाखौँ वा करोडौँ डलर
खर्च गर्छ वर्षेनी । हिउँ जमेर बाटो चिप्लो हुन्छ, मटर चल्न समेत मुश्किल पर्छ ।
अनि बाटोको हिउँ नसोहोरेर भयो र? बाटो चिप्लो त अझै फ्रिजिङ रेनले पो बनाउँछ
। जमिनको सतह भन्दा सय वा दुईसय फिटमाथिको तापक्रम प्लसमा, जमिनको तापक्रम
चाहिँ माइनसमा रहँदा परेको पानीले भुइँ छुँदा त्यो चिसोले जम्छ र हिड्नै
नसकिने गरी बाटो चिप्लो बनाइदिन्छ, यही फ्रिजिङ रेन हो । तर अचम्म के छ भने
त्यस्तोमा पनि मान्छे काम चलाउँछन् । यति
मात्र हैन, हिउँका डल्लाहरुले एक-आपसमा हानाहान गरेर केटाकेटीहरु क्रिष्मस
मनाउँछन, स्केटिङ खेल्छन्, यो मैले देखेको छु । जताततै हिउँ देखेर म भने डिप्रेस
हुन्छु, घरमा हुँदा त झ्यालको पर्दा लगाउँछु ।
कहिलेकाहीँ सोच्छु - यस्तो जाडो ठाउँमा
यत्रोबिधि विकास कसरी सम्भव भयो ? यहाँ वर्षको सात महिना बाहिर काम गर्न सकिदैन । इन्धनको
विकासअघि, विजुलीको आविष्कारै नहुँदा यहाँका मान्छेले कसरी काम गरे? यहाँको विकास पनि
कृषिबाटै शुरु भएको हो, कसरी गरे होलान् क्यानेडियनहरुले कृषि ? एक नेपाली
क्यानेडियनले मलाई यही अटवामा पोहोर साल निर्धक्क भनेका थिए, 'नेपालीहरु दु:ख
नपरेकाले बिग्रेका हुन् ।' हुन पनि बाह्रै महिना काम गर्न सकिने हवापानी भएको देश
नेपालमा किन मान्छे अल्छी भए ? उनको कुरामा मलाई विश्वास जागृत भयो ।
वाटोमा देख्नासाथ यो गोरे पहिलो व्यक्ति थियो
जसलाई हामीले लाइब्रेरी र बैंकको वारेमा सोधेका थियौँ । लाइब्रेरीको बारेमा उसले
केही पनि भन्न सकेको थिएन, बैंकको बारेमा भने केही शब्दहरु खर्च गरेको थियो, तर यो
पनि निश्चयकासाथ हैन । हिड्दा-हिड्दै एक छिन आफूलाई रोकेर खालि यति भनेको थियो उसले,
'तिमीले खोजेको बैंक यता (एक दिशातिर देखाउँदै) छ जस्तो लाग्छ ।'
'कति पर
होला?, कति बेर लाग्ला यहाँबाट हिड्दा, बस लिन पर्ला? लिन परे कुन लिन पर्ला?' मदत
गर्न तयार मान्छे उसलाई मैले प्रश्नहरु वर्षाएको थिएँ । यति धेरै प्रश्नमा फेवाको
आपत्ति थियो । उनको भनाइमा 'क्यानेडियनलाई यस्तो मन पर्दैन, एकको जबाफ आइसकेपछि मात्र
अर्को प्रश्न गर्ने हो ।'
तर संयोग कस्तो परेछ भने मेरा यी पछिल्ला प्रश्नहरुमध्ये
कुनैको जबाफ पनि गोरेसँग थिएन । उसले हामीसँग माफि माग्यो गल्ती गरेको झै र भन्यो,
'म पनि अटवाको लागि नयाँ छु ।' उसले माफि माग्न जरुरी नै थिएन । हामी नेपाली त
आफूले गल्ती गर्दा पनि अरुकै दोष देखाउँछौँ, माफि माग्ने त परकै कुरा भयो ।
माफि नमागे पनि हामीले उसलाई 'धन्यवाद' भनेर
हिडेका थियौँ, ऊ पनि आफ्नो बाटो लागेको थियो । कता हिड्यो याद गरेनौँ, गर्ने कुरा
पनि भएन । तर एकैछिनमा अलि पर अर्कै ठाउँमा फेरि भेट भयो । अचम्म लाग्यो, पृथ्वी
गोल भएको प्रमाण मिल्यो । आँखा जुधेपछि मैले सोधेको थिएँ, 'के तिमीले पुस्तकालय र
बैंक पत्ता लगायौ?' फेवा यस पटक पनि चिन्तित भएकी थिइन्, दोहोर्याएर एउटै
मान्छेसँग एउटै प्रश्न सोधेकोमा । तर उनले मेरो ठट्टा नबुझेकी थिइन्, ठट्टा
नबुझ्ने उनको नयाँ बानी हैन । तर आज त शायद गोरेले पनि बुझेन जस्तो लाग्यो । उसले स्वाभाविक
जबाफ दियो, 'मैले तिमीलाई भनिसकेँ नि, हैन र?' । फेवाले ठाने जस्तो मेरो
प्रश्नले उसको मुड बिगारेको थिएन । हाम्रो समस्या समाधान गर्न नसके पनि उसले आफ्नो
मुड ठीक राखेकोमा म दंग परेँ ।
'यो १०
मिनेटमा केही थाहा पायौ कि भनेर सोधेको हुँ' मैले फेरि हल्का कुरा गरेँ । अब भने ऊ
हाँस्न खोजेको देखेँ, तैपनि खुलस्त हाँस्न नसकेको म सम्झन्छु, कोही यस्तै हुन्छन्
। ऊसँग बोल्न सजिलो लागेर मैले थपेको थिएँ, 'अब तेश्रो भेटसम्ममा त तिमीले अवश्य पत्ता
लगाउछौँ होला ।'
यस पटक उसले
अघिको भन्दा अलि बढी दाँत देखाएको थियो, तैपनि हाँसेको भन्न मिल्ने थिएन । मैले
विदा हुने संकेत गर्दै हात अगाडि बढाएँ । आफ्नो हात अगाडि बढाउनुको सट्टामा उसले
सोधेको थियो, 'अब हामी तेश्रो पटक पनि भेट्छौँ होला र?'
'यसमा
तिमी भन्दा बढी म पनि जान्दिन' यति बोलीसक्ना साथ मलाई कस्तो कस्तो लागेको थियो ।
कस्तो भन्ने खै, अभिव्यक्त गर्नै सक्दिन । त्यसपछि मैले तुरुन्तै उसलाई प्रस्ताव
गरेको थिएँ, 'फेरि भेटिने सुनिश्चितता छैन, त्यसैले एक कप कफि हामीसँगै खाउँ न त ।
बरु टीम हर्टन्स कता होला, यो त थाहा होला तिमीलाई?'
'हुन्छ, म खुसी नै भएँ
यस प्रस्तावले' अनपेक्षित जबाफ आयो किनकि उसले कफि खान मान्ला भन्ने मलाई पत्यार
थिएन । थोरै थकाइ थियो, विश्राम लिन पनि चाहन्थेँ । विश्रामसँगै नयाँ मान्छे, त्यो
पनि विदेशीसँग कफि लिँदै कुरा गरेको मजा अर्कै हुन्छ ।
उसले
फेरि थप्यो, 'तर टीम हर्टन्स कता छ, मलाई पनि थाहा छैन ।' अटवामा टीम हर्टन्स
टोल-टोलमा छ, तर यहाँ चाहिँ कहाँनिर छ, हामी तीनैजनालाई थाहा भएन । एक दिशातिर
देखाउँदै फेवाले वेस्ट गेस गरिन्, 'यता होला, जाउँ न ।'
हामी तीनैजना त्यसबेलादेखि फेवाले देखाएकी
दिशातिर हिडीरहेका छौँ, तर टीम हर्टन्सको पत्तो छैन । दश मिनेट हिडिसक्दा पनि गन्तव्य
भेटिएन । तर दश मिनेटको यो थप समय हामीले एकले अर्कालाई चिन्ने अवशर चाहिँ भयो । रविन्सन
नाम गरेको यो गोरे भर्खरै भ्यानकुवरबाट यहाँ सरेको रहेछ । उसले भन्यो
'भ्यानकुवर निकै महँगो शहर छ, एक पैसा पनि बच्दैन । म त काम खोज्दै यहाँ आइपुगेको
छु ।'
'किन काम
पाउन त्यहाँ भन्दा यहाँ सजिलो छ?' मैले जिज्ञासा राखेँ ।
'होला
जस्तो लाग्छ' उसले भन्यो, 'म आउनुको अरु कारण छ । हरेक दिन पानी पर्छ भ्यानकुवरमा
।'
'सधै नै
पर्छ र पानी?' मैले नपत्याएको जस्तो गरेँ ।
'चार
महिना त सधै पर्छ' रविन्सनले विस्वस्त पार्यो । हिडाइ रोकेर तीनैजना ठिङ्ग उभियौँ,
जिल्ल परेर चारैतिर आँखा दौडायौँ । अघि बैंक र पुस्तकालयको बारेमा सोधे जस्तै बाटो
हिड्नेसँग अब टीम हर्टन्स सोध्न थाल्यौँ । एकजनाले आफूलाई थाहा नभएको बतायो, तर
शिष्टतापूर्वक, एकछिन उभिएर । मैले नेपालीसँग तुलना गरेँ उसको व्यवहार । एकदमै फरक
। कार्लटन युनिभर्सिटीको विद्यार्थी रहेछ युवा उमेरको । छोराको दीक्षान्त समारोहमा
त्यहाँ भाग लिएकोले कार्लटनको उच्चारण मलाई मीठासपूर्ण लाग्यो । यो केटो पनि कुहिरे
नै रहेछ, केही बताउने प्रयास गर्यो, तर सकेन । 'सरी' भनेर विस्तारै आफ्नो
बाटो लाग्यो । अर्की काली थिई, सोधेपछि ऊ पनि हाम्रो अगाडि उभिई, एकछिन केही पनि
बोलिन, सोचेको जस्तो गरी र दृढतापूर्वक भनी, 'यहाँबाट करिब १५ मिनेट हिड्नु पर्छ टीम
हर्टन्समा पुग्न ।' हामी तीनै जनाले एक-अर्कोलाई हेर्यौँ, फेवा र रविन्सनको
अनुहार मैले पढ्न सकिन, थाकेको भएर हो कि? अर्को १५ मिनेट हाम्रो लागि निकै समय
थियो ।
'के अब
१५ मिनेट हिड्न तिमी तयार छौ?' मैले रविन्सनललाई सोधेँ ।
'मलाई त
केही छैन, हिड्नु आखिर खराब त हैन, स्वास्थ्य बनाउने अवशर नै हुन्छ' उसले जबाफ
दियो । फेवा चुप लागिन्, दुईजनाले गरेको निर्णय उनलाई मान्य हुने देखियो ।
'तिमी त
लेखकले जस्तो कुरा गर्दा रहेछौ' मैले अनायासै भनेँ, जसको कुनै आधार थिएन ।
'तिमीले
कसरी थाहा पायौ? म लेखकै हुँ, छोटा कथाहरु लेख्छु, उपन्यास लेख्न खोज्दैछु ।
वास्तवमा लेख्ने वातावरण पाउन पनि म भ्यानकुवरबाट यहाँ आएको हुँ । भ्यानकुवरमा मध्यपूर्वका
धेरै छन्, मैले खोजेको वातावरण त्यो हैन । म मध्य अमेरिकीहरुसँग बस्न चाहन्छु ।
त्यसैले पनामा जाने विचारमा छु । तर मैले पैसा जोगाउन सक्नु पर्छ' उसले
पूर्ण अनपेक्षित तर लामो कुरा गर्यो । अचम्म मानेर मैले उसलाई हेरेँ । अघिदेखि नै
अरु गोरे भन्दा फरक लागिरहेको थियो मलाई रविन्सन । यही बेलामा फेवाले बताइदिइन्,
'ऊ (मलाई देखाउँदै) पनि लेखकै हो ।'
'म ठूलो
लेखक हैन' तुरुन्त स्पष्टिकरण दिएँ ।
'त्यो त
म पनि हैन, शायद तिमी भन्दा पनि सानो, पहिलो उपन्यास नै पुरा गर्न बाँकी छ' उसले
भन्यो । फेवा र मलाई यो गजवको संयोग लाग्यो । १५ मिनेट त के? लेखकसँग कुरा गर्न
पाइने भएकोले एक घण्टा हिड्न पनि तयार भएँ ।
हामी फेरि हिड्न थाल्यौँ, त्यो काली केटीले
बताएकी दिशातिर । थकाइ हरायो, ऊसँगको कुरा चाखलाग्दो हुन थाल्यो । मैले 'कतिवटा
किताब लेखेका छौ?' भनेर सोधेँ ।
उसको
जबाफ थियो, 'कथा संग्रहहरु छन् ।'
'मैले चाहिँ
नेपाली भाषामा लेखेको छु, तिमी बुझ्दैनौँ । त्यसैले तिमीले मलाई लेखक नमान । लेख्न
पनामा जान्छु भन्यौँ, त्यो आवश्यक छ र?' मैले अनायासै सोधेँ ।
'एकदमै
आवश्यक छ, किनकि मेरो उपन्यासमा
अहिलेसम्म 'सस्पेन्स इलिमेन्ट' को बेवास्ता भएको छ, संवाद बढी छन्, सेटिङ पनि चित्त बुझेको छैन । त्यसैले
सन्तुलन बिग्रेको छ । रि-राइट पो गर्न पर्ने हो कि ! यी सबै काम म यहाँ
बसेर गर्नै सक्दिन । यहाँ म काम गर्छु, त्यहाँ लेख्छु भन्ने लाग्या छ ।'
'पनामै
किन?' म गहिरिएँ ।
'शान्त
ठाउँ खोजेको हो, तर पनामा दुई कारणले ठीक लागेको छ जान । त्यसको नक्सा नै
विचित्रको लाग्छ मलाई, त्यो देशले दक्षिण र उत्तर अमेरिकालाई जोडेको छ । त्यहाँ रमाउन
सक्छु होला ।'
'अर्को
कारण चाहिँ?'
'दोश्रो
चाहिँ अर्को भेटमा भन्न सक्छु?' उसले हाँसे झै गरी सोध्यो ।
'ठूलै
योजना रहेछ तिम्रो?' मैले सोधेँ ।
'ठूलो
के? यति त सबै गद्यमा मिलाउन पर्दैन र?' किताबका कतिपय आवश्यक ठाउँमा मैले उदाहरणहरु
दिन सकेको छैन, त्यो पनि सोच्नु छ, पनामाले मलाई प्रसस्त सोच्न देला । हेरौँ के
हुन्छ?' ऊ गम्भिर भयो ।
'हामी त
लेख्दा यति धेरै सोच्दैनौँ'
'तिमीकहाँ
जे पनि बिक्छ होला, तर यहाँ त निकै प्रतिष्पर्धा छ, चर्को मेहेनत नगरी केही हुँदैन
। मैले ६ महिनाको कोर्स पनि गरेको थिएँ, तर यो धेरै पहिलेको कुरा हो ।
गोष्ठीहरुमा भाग लिँदा पनि निकै कुरा थाहा हुन्छ' उसले व्याख्या गर्यो ।
'हामीकहाँ
केही पनि बिक्दैन, लेखन व्यवसाय भएकै छैन । लेखनको प्रारम्भिक चरणमै रहेछौँ ।
तिम्रो उपन्यास कुन विषयमा छ नि?'
ऊ एकछिन
अन्कनायो, तर भन्यो, 'क्लाइमेट चेन्ज, तर यो असाध्य असजिलो विषय रहेछ
उपन्यासको लागि । यस विषयका किताबहरु मैले धेरै पढेँ, खास गरेर अमेरिकी लेखकहरुको,
पहिलेका उपराष्ट्रपति अल गोर यसको च्याम्पियन थिए । तिमीलाई थाहा छ,
जलवायुमा आइरहेको परिवर्तनले पृथ्वीलाई मान्छे बस्नको लागि अनुपयुक्त बनाउँदैछ, के
यो कहालिलाग्दो होइन र?'
'हो, तर
उपन्यासमा यो ..., त्यसो भए तिम्रो उपन्यासमा दुनियाँलाई सन्देश हुनेछ, हैन? एउटा
उपन्यास लेखकको यस्तो गम्भीर जिम्मेवारी हुन्छ र?'
'ठीक
भन्यौ । हाम्रो जिम्मेवारी हुन्छ । मानवले थाहा पाउनु पर्ने कतिपय चिजलाई फिक्सनले
रोचक बनाइदिन्छ, तीनलाई समाजले ग्रहण गर्न सहज हुन्छ, यो मेरो निर्क्यौल हो । तर आफूलाई थाहा भएको चिजलाई एउटा लेखकले एकदमै
होशियारीपूर्वक लेख्न सक्नु पर्छ, नत्र उल्टो सन्देश ग्रहण गरिन सक्छ जुन
उपन्यासको उद्देष्य कहिल्यै हुन सक्दैन ।'
'वास्तवमा
उपन्यासको शक्ति के हो जस्तो लाग्छ तिमीलाई?'
'सन्देशलाई
पाठकको दिमागमा नमेटिने गरी राखिदिनु । अर्को शक्ति हो, एउटा मान्छेलाई अर्को
मान्छेको मनभित्र पस्ने ठूलो अवशर दिन्छ उपन्यासले'
'तिमी
उपन्यासलाई वेष्ट सेलर बनाउन चाहन्छौ क्यार!'
'यस्तो
कुरा चाहेर हुँदैन, फेरि त्यो त न्यु-योर्क टाइम्सले भन्ने हो, मैले त उपन्यासलाई
प्यरानर्मल, अर्थात सामान्य भन्दा फरक मात्र बनाउन खोजेको हुँ ।'
'पनामा
जान र बस्न त निकै पैसा चाहिएला नि हैन?' मैले प्रसङ्ग मोडेँ ।
'भाडा
माझ्ने काम गर्न तयार भएर अटवा आएको छु । मलाई भनिएको छ, यो काम पाउन यहाँ सजिलो छ
। मसँग अरु कुनै सिप छैन । पैसा बच्छ होला, किनकि म होष्टेलमा बस्न खोज्दैछु, त्यो
सस्तै हुन्छ, खानमा मेरो सोख छैन । टीम हर्टन्सको कफि र म्याकडोनाल्डको बर्गर
खाएर म महिनौँ चलाउछु, कहिलेकाहीँ कोक चाहिन्छ । यसमा मेरी छोरी एक पटक
रिसाएकी थिई'
'तिम्रो
छोरी पनि छे?'
'दुईवटा
छोरा, एक छोरी ।'
'ती के
गर्छन् त ?' मलाई रविन्सनको परिवारको बारेमा जान्ने जिज्ञासा पलायो ।
'सबैको
आ-आफ्नो काम छ, छोराहरु इन्जिनियर हुन्, राम्रै कमाउँछन्, छोरी र ज्वाईँ पनि
कमाउँछन्, एउटा छोरो अमेरिकाको भर्जिनियामा छ, अर्को क्यानडाको मन्ट्रेलमा छ, छोरी
टोरन्टोमा ।'
'पत्नी नि?'
'छैन'
रविन्सनले एकासि नमीठो अनुहार लगाएको प्रष्ट देखेँ, 'मैले केही नगरेको देखेर
अर्कैसँग गई, पछि एक जापानिज केटीसँग मेरो सम्बन्ध भयो, ऊ वातावरणविद थिई ।
यासुमिरा मलाई माया गर्थी । उसले दुवै जना जापान जाने प्रस्ताव ढिपिपूर्वक नै गरी
। तर मैले जानुको तुक देखिन, म केहीको पनि विशेषज्ञ थिइन र छैन । त्यहाँ गएर के गर्ने
मैले? जापान र ममा एउटा छन्न पर्दा ऊ निकै दु:खित भई, अन्तत: जापानलाई छानी । पत्नी
चाहिँ फ्रेन्च थिई । साँचो भन्नु पर्दा मलाई पत्नीको भन्दा यासुको बढी सम्झना आउँछ
। हामीसँगै पनामा जाने उसैको सोचाइँ थियो । अघि पनामा छान्नुको दुईवटा कारण भएको बताएको थिएँ
तिमीलाई, दोश्रो कारण यही हो । दुवै साथ जान त सकिएन, म मात्र गएर भए पनि उसको
इच्छा पुरा गरिदिन्छु । अब म जापान त जान सक्दिन । मलाई थाहा छ, यासुले मलाई कुरेर
बसेकी छैन ।' उसले थोरै शब्दमै आफ्नो कथा ओकल्यो । यति चाडै ऊ मसँग खुल्नु अलि
स्वाभाविक भएन, तर उसको मार्मिक कथामा भने शंका लागेन । एकछिन केही बोल्नै सकिन, ऊ
पनि मतिर हैन, गम्भीर भएर आकासतिर हेर्दै हिड्न थाल्यो ।
'तिमीलाई
छोराछोरीले माया गर्दैनन्?' कति बेर नबोलीकन हिड्न सकिन्छ र? मैले अनायासै सोधेँ ।
'थाहा
छैन, गर्छन् जस्तो लाग्छ, अस्ति फादर्सडेमा फूल पठाएका थिए, कार्ड पनि ।'
'भाडा
माझ्ने कुरा तिमीले यसै गरेका होलाउ'
'हैन,
भाडा माझ्नुमा के खराबी छ र? म पक्का छु, त्यसै गर्नेछु । पैसा बचाएर पनामा जानेछु
र उपन्यास पुरा गर्नेछु ।'
मैले रविन्सनको मात्रै हैन, उसले पनि मेरो र
नेपालको वारेमा सोध्यो । हामी दुईको सोधाइमा केही गुणात्मक भिन्नता थियो । मेरा
प्रश्नहरु उसको व्यक्तिगत मामालामा थियो भने उसको चाहिँ नेपाल देशको बारेमा । उसले
राजनीति, इतिहाँस, संस्कार, प्राकृतिक साधन, निर्यात-व्यापार, विकासको स्तरमा
प्रश्नहरु गर्यो, यी विषयहरुमा उसको चाख होला । तर मेरो यी सबै क्षेत्रमा दखल
थिएन, आफूलाई थाहा नभए पनि 'थाहा छैन' भन्न सकिन, थाहा भएका केही कुरा लुकाएँ पनि
। संक्षेपमा सत्य र झुटो दुवै बोलेँ । 'कलिलो गणतन्त्र नेपाल हाम्रो देश भएकैले
राम्रो पनि छ' मैले भनेँ, 'चेतनाको तह कम भएर के भयो र, चुनावमा जनताले
वामपन्थिहरुलाई रोजिहाले । काम नगरे पनि हामीकहाँ हरेक दिन नयाँ-नयाँ कुरा आविष्कार
गर्ने नेताहरु छन्, शहिदको संख्या नेताहरुको भन्दा बढी भएको मुलुक हो नेपाल ।' हामी
आफू अध्यारोमा बस्न परे पनि जलश्रोतमा नेपाल निकै धनि मुलुक भएको उसलाई जानकारी
गराएँ । मैले उसलाई 'नेपाल माल-सामान उत्पादनमा पछाडि भए पनि सिपविहीन युवाको भिड
निर्यात गर्नमा अगाडि छौँ, खास गरेर मध्यपूर्व र मलेशियातिर, उनीहरुकै कमाइले
नेपालमा पैसा हुनेले गाडि चढ्न पाएका छन्' पनि भनेँ । आफ्ना प्रश्नहरुको जबाफ
सुनेपछि हिड्दा-हिड्दै रविन्सन रोक्कियो, म पनि रोक्किन करै लाग्यो । उसले गम्भिर
अनुहार लगाउँदै मतिर हेर्यो, म त्यति गम्भिर थिइन, उसले बनाइदिन खोज्यो । तर केही
बोलेन । उसले देश र मेरो के कस्तो मूल्यांकन गर्यो, ठम्याउन सकिन । हामी फेरि
हिड्न थाल्यौँ ।
नेपालको संस्कार सम्बन्धी प्रश्नको पनि जबाफ
दिन पर्ने थियो मैले । जति सोचेँ पनि भन्नको लागि मनमा केही पनि फुरेन ।
'यहाँको
भन्दा धेरै फरक संस्कार छ' यतिसम्म भन्न
सकेँ ।
ऊ यतिमै
थामिएन मैले चाहेको जस्तो । 'कस्तो, कुनै उदाहरण ?' उसले सोधिहाल्यो ।
मलाई त
पसिना चिटचिट आउन पो लाग्यो, हिडाइले हैन, उसको सोधाइले । किन म आफू रित्तो भएको
अनुभव गर्न लागेँ? मलाई भन्न मन लाग्यो, 'हाम्रो कुनै संस्कार छैन, जे थियो
मासिसक्यौँ ।' तर संस्कार नभएको देश कस्तो होला ? आफ्नो भन्दा पनि देशकै वेइज्जत
हुने खतरा पो भयो । अनायासै दुई पाइला पछाडि हिडिरहेकी फेवालाई हेर्न पुगेँ । उसको
अनुहार देखेपछि मनमा विजुली चम्केको जस्तो झिलिक्क भयो, अनि भनेँ 'हामीकहाँ विहेपछि
सामान्यतया सम्बन्ध विछोड गर्ने संस्कार छैन, यो फरक भएन र?'
कुरा
सुनेर ऊ एकछिन अकमक्क पर्यो, र सोध्यो, 'तिमी पत्नीबाट छुट्टिन चाहन्थ्यौ र?'
हो कि
हैन त एकिन भएन, तर पहिलो पटक ऊ यसरी ठट्टामा उत्रेको जस्तो लाग्यो मलाई, मैले
आफ्नो कुरा गरेको थिइन । 'मलाई मात्र किन सोध्छौ, उसलाई (फेवातिर देखाउँदै) पनि
सोध न' मैले जबाफ दिएँ ।
फेवाले मलाई
आँखा तरिन्, यसमा केही थपिनन्, प्रसंग मोड्दै भनिन्, 'नेपालको संस्कृतिको बारेमा लेख्न
तिमी नेपाल आउ ।'
'मसँग
अहिले पैसा छैन, नेपाल धेरै टाढा पनि छ' रविन्सनले जबाफ दियो ।
'त्यसो
भए पैसा भएपछि आउ, सस्तो छ नेपाल, केही दिन त हामी तिमीलाई आफ्नै घरमा राख्नेछौँ'
थपिन् फेवाले ।
उसले
कुनै प्रतिकृया दिएन यसमा, म पनि बोलिन । यतिमै परैबाट टीम हर्टन्सको साइनबोर्ड
देख्यौँ तीनैले एकैसाथ । यो निकै खुसीको क्षण भयो हामीलाई, जिन्दगीमै खोजेको चिज
भेट्टाए जस्तो । तर वास्तवमा त्यति त हैन यो । एकै छिनमा तीनैजना टीम हर्टन्सभित्र
छिर्यौँ, म तीनवटा कफिको लागि लाइनमा उभिएँ र चानचुन पैसा गन्न थालेँ । बाँकी दुईजना
लाइन नजिकै उभिए । उभिएरै रविन्सनले हामीलाई सम्झायो, 'तिमीहरुको काम त बैंक र
लाइब्रेरीमा थियो, हैन?'
'हामी
नेपाली हौँ साथी, काम हैन, कुरा प्राथमिकता हुन्छ हाम्रो । यसलाई हाम्रो अर्को
संस्कार माने हुन्छ तिमीले' संस्कारको कुरा उसलाई भन्न सकेकोमा मैले आफुलाई
धन्यवाद दिएँ ।
उसले फेरि एक पटक हँसिलो अनुहार लगायो, तर
हाँसेन ।
अटवा, क्यानडा